शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विप्लवले किन छाड्न लागे समाजवादी मोर्चा?

शुक्रबार, भाद्र १५ २०८०

काठमाडौं– केही समयसम्म चर्चामा नरहेको अमेरिकी आर्थिक सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) कार्यान्वयनमा गएपछि सत्ता राजनीतिमा नै धक्का लाग्न सक्ने सम्भावना देखिएको छ। खासगरी यसको असर सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रलाई पर्ने निश्चित छ। कांग्रेसलाई दबाबमा राख्नका लागि उसले गठन गरेको समाजवादी मोर्चा नै बिग्रहको स्थितिमा पुग्ने संकेत मिलेको हो।

नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाबाट अलग हुने निर्णयको तयारीमा छन्। ‘एमसीसीको विरोध गरिरहेको पार्टी, त्यसलाई कार्यान्वयन गर्ने सत्तारुढसँग एकै मोर्चामा बस्न नैतिक प्रश्न उठ्यो, केही खास निर्णय हुन सक्छ’, विप्लव समूहका एक नेता भन्छन्,‘बैठकमा यो एजेन्डा बलियोगरी उठाइनेछ।’ एमसीसी कार्यान्वयनमा नलैजानका लागि विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै भेटेर भनेका थिए। तर, प्रचण्डले एमसीसी रोक्न नसकिने जवाफ दिएपछि उनी मोर्चाबाट अलग हुने निर्णयमा पुग्न सक्ने अनुमान गरिएको हो। एमसीसीका प्रमुखसहितको बैठक र सम्झौतामार्फत कार्यान्वयनमा गएको घोषणा गरिएको थियो।

एमसीसीको विपक्षमा मोर्चामा सहभागी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि उभिएका छन्। पहिला विपक्षमा उभिएको माओवादीले व्याख्यात्मक टिप्पणीका नाममा फेस सेभिङ गरे पनि मोर्चामा रहेका विप्लव यसको खिलाफमा मात्र छैनन्, बानेश्वरमा एउटा सभामा उभिएर नै कडा भाषामा आलोचना गरे। यसले समाजवादी मोर्चामा खटपट कायम रहेको स्पष्ट पारेको हो। विप्लव पार्टीका नेता अनिल शर्माले पनि यस्तै संकेत गरेका छन्। स्थायी कमिटीको बैठकमा एमसीसी एजेन्डा बन्ने र समाजवादी मोर्चामा रहने कि नरहने भन्ने विषयमा छलफल हुने शर्माको भनाई छ।