काठमाडौं– अति महत्व दिएको अमेरिकी सहायता परियोजना (एमसीसी)को बिरोध गरिरहेका दलसँग समाजवादी मोर्चा गठन गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले बाध्यात्मक अवस्थामा काँध थापिरहेको टिप्पणी हुन थालेको छ। एमसीसीविरोधमा अभियान र आन्दोलनको घोषणा नै गरेर नेत्रविक्रम चन्दको नेकपा मैदानमा उत्रिएका बेला नै प्रचण्डले समाजवादी मोर्चाको कार्यक्रममा सम्बोधन गर्दैछन्। उक्त मोर्चामा एमसीसीको चर्को बिरोध भए पनि प्रचण्डले सुनिरहँदा कांग्रेसलाई झस्का पस्ने निश्चित छ। तर, यति हुँदा पनि एमसीसी पक्षधर नेकपा एमालेसँग नमिलि कांग्रेसले प्रचण्डलाई किन काँध थापेको होला?
यसका दुई कारण रहेको बताइन्छ। पहिलो, कांग्रेसले खुला राजनीतिमा आफ्नो प्रतिस्पर्धी एमालेलाई ठानेको छ भने रास्वपाप्रति नरम हुने सम्भावना देखाउन नसकिने ठानेको छ। अर्कोचाहिँ, सत्ता गठबन्धनलाई कायम राखे ठूलो शक्ति आफूनजिक रहने भ्रम पनि छ। कांग्रेस सभापति शेरबहादुर देउवा केही समयमा प्रधानमन्त्री बन्ने लोभमा फँसेका छन्। त्यसबेलाको राजनीतिक समीकरण कस्तो बन्ला भन्ने अहिले हेक्का भइसकेको छैन। अन्तिम समयमा एमालेको साथ खोजी प्रधानमन्त्री बनेका प्रचण्डलाई अहिले छाडे उनले सत्ता समीकरण बदल्न सक्ने सम्भावनाका कारण कांग्रेसले अनेक प्रहार सहनुपरेको बताइन्छ।
‘कांग्रेसले प्रचण्डलाई छाड्दा एमालेसँगको समीकरण भन्दा पनि कम्युनिस्ट मिल्छन् भन्ने खतरा छ’, एक नेता भन्छन्,‘यो त्यहि बेला देखिएको थियो। त्यसैले पूर्वशर्तमा पार्टी फर्किनु परेको थियो।’ सरकार गठनका बेला कांग्रेसको अडान अन्तिम समयसम्म पनि कायम रहँदा प्रचण्ड बालकोट पुगेर प्रधानमन्त्रीमा नियुक्त भएका थिए। ‘ओलीले कुनै पनि बेला सत्ता पलट गर्न सक्ने सम्भावना देखिन्छ। त्यसबेला पनि देउवाजी ओलीको विश्वासमा पर्दा पछि धोकामा पर्नुभयो’, एक नेता भन्छन्,‘यसैले प्रचण्डलाई नबोकी नहुने स्थिति बनेको छ।’