काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
अध्यक्ष ओलीले सरकार र सत्तारुढ दललाई भ्रष्टहरुको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरु आफै जेल जाने जिकिरसमेत गरे।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रुपमा बिक्री गरी कमिसन खानेहरुले आफूलाई बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न चुनौती दिए।
ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमितता नगरेको जकिर गरे।
एमालेले कुनै पनि प्रकारको गलत काम नगरे पनि विरोधीहरुले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउने गरेको उनले बताए। ओलीले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरु अहिले आफै भागाभागमा परेको बताए।