काठमाडौं । सातै प्रदेशका सम्पर्क कार्यालय एकै ठाउँमा हुँदा अन्तरप्रदेश समन्वयन र संघीय सरकारसँग समन्वयन गर्न पनि सजिलो हुने बताइँदै ललितपुरको भैँसेपाटीमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालय र निवास भवन तयार भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार उक्त भवनहरूको उद्घाटन गरे । साथै, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भवनको साँचो पनि हस्तान्तरण गरे ।
प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा सम्पर्क कार्यालय र निवास बनाउने गरी असोज ०७६ मा भवन निर्माण सुरु गरिएको थियो । करिब चार वर्षमा उक्त संरचना निर्माण पूरा भएको हो । २७ रोपनी १२ आनामा क्रमशः एउटै डिजाइनका सातवटा (१४ ब्लक) ठूला भवनहरू निर्माण गरिएका छन् । भवनहरूले मात्रै १७ रोपनी सात आना जग्गा ओगटेको छ ।
पाँच रोपनीमा आन्तरिक सडक, आठ आनामा बगैँचा, पोखरी र चार रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहेको छ ।
कुल लागत ८५ करोड रुपैयाँको आयोजनाको एउटा भवनको खर्च साढे १२ करोड रहेको छ । प्रत्येक भवनको एउटा ब्लकमा प्रदेश प्रमुख र अर्को ब्लकमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास रहेको छ ।