काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उच्चस्तरीय जाँचबुझ आयोग गठनको सहमतिलाई ठट्टा नसम्झन चेतावनी दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले छानबिन आयोग बन्ने सहमतिलाई ठट्टा गर्दा महंगो पर्ने चेतावनी समेत दिए।
सुन तस्करीको विषयमा छानबीन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न बुधबार दलहरुबीच सहमति भएको थियो। सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच भएको सहमतिमा असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्ने उल्लेख छ।
बुधबार संसद बैठकबाट बाहिरिँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका नेता विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालोकाे व्यवस्था गरिएकाे भनेर टिप्पणी गरेका थिए।
त्यसको प्रतिउत्तरमा रिमालले विश्वप्रकाशकाे नाम नलिइकन संवेदनशील बिषयमा “ठट्टा” नगरौं, महँगो पर्छ है भनेर चेतावनी दिएका छन् ।
एयरपोर्टमा कार्यरत सबै निकायले नसमातेको क्विन्टल सुन राजश्व अनुसन्धान विभागले समाउनु, विजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’ किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजिकरणमा परिवारका मानिस तम्सिनु, सुन पो रहेछ भन्ने सूचना लिक हुँदानहुँदै समातिएको मध्ये केही सुन गायब पारिनु … र यी सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारीकै सांसद उफारी संसद अबरोध हुनु संयोग मात्र नभएको उनले फेसबुकमा लेखेका छन् ।
‘अन्तत: छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै “प्रभावशाली” भनिने नेताले “सहमति विपक्षलाई छक्याउने रंगिन टालो” भन्दै बिल्ला हान्नुले प्रष्ट हुन्छ– साथीहरुको नियतमा कहिँ न कहिँ खोट छ। अहिले यत्ति चाँहि भनौं : मित्रहरु, यस्तो संवेदनशील बिषयमा “ठट्टा” नगरौं, महँगो पर्छ है !’ उनले भनेका छन् ।