विराटनगर । कोशी प्रदेशको चालु तथा तेस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले तेस्रो तथा हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले जारी अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङ्ले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत असंवैधानिक रुपमा लिएको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपा रुष्ट छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा एमाले र राप्रपाले बहिष्कार गरेका थिए ।
मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीको भोटले लिएको विश्वासको मतको विरुद्धमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता हिक्मतकुमार कार्कीले बुधबार सर्वोच्च अदालतमा थापाले विश्वासको मत नपाएको र आफूलाई मुख्यमन्त्री बनाउनका लागि परमादेश माग गर्दै रिट दायर गरेका छन् ।
उक्त रिटको आज सुनुवाई हुँदैछ । यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भए पछि एमाले सर्वोच्च पुगेको थियो । सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । तर, विश्वासको मत लिने बेला पुनः सभाध्यक्षको मत लिए पछि एमाले फेरी पनि सर्वोच्च पुगेको हो