प्रधानमन्त्रीले नै पहल गरिराखेको र समाधान उन्मुख रहेका बेला फेरि त्यही विषयमा राष्ट्रपतिले किन सक्रियता देखाउनुपर्यो ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् ।
राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको एमालेले बताएको छ । संसदको अवरोध अन्त्य गर्न सरकारका प्रधानमन्त्रीले नै पहल गरिराखेको र समाधान उन्मुख रहेका बेला फेरि त्यही विषयमा राष्ट्रपतिले किन सक्रियता देखाउनुपर्यो ? भन्दै एमाले आपक्ति जनाएको छ ।
साथै एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । राष्ट्रपतिले बोलाएको बैठकको एमालेलाई जानकारी नभएको र उक्त कुरा वैधानिकता पनि पुष्टि नहुने भन्दै एमाले बैठकमा नगएको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।
सरकारको काम राष्ट्रपतिले गर्नु उचित नभएको बताउँदै एमालेले सहमतिको प्रक्रियाबाट छलफल अघि बढिरहे रहेका बेला राष्ट्रपतिले त्यसलाई समानान्तर रुपमा अघि बढाएर ओभरल्यापिङ गर्न अनावश्यक सकृयता देखाएको एमालेका सचेतक महेश बर्तौलाको आरोप छ ।
यस्तै सोमबार साँझ बसेको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकोबारे चासो राखेका थिए ।
ओलीले प्रधानमन्त्रीसँगको सल्लाहमा राष्ट्रपतिले काम गर्नुपर्ने भएपनि कुन आधारमा सर्वदलीय बैठक बोलाएको ? भन्दै प्रश्नसमेत उठाएका थिए ।
राष्ट्रपतिले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग पनि शितल निवासमा भेटवार्ता गर्दै संसदको गतिरोध अन्त्यका लागि आग्रह गरेका थिए।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।