'मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घटना निर्लज्जताको पराकाष्ठा'
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट पाएको भनिएको विश्वासको मत विवादमा तानिएको छ । विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ ।
उपसभामुखको अनुपस्थितिमा सोमबारको बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसद्मा हंगामा सुरु भएको थियो । उनले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे । नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरे ।
थापाको पक्षमा ४७ मत प्राप्त भयो भने विपक्षमा ३० मत पर्यो । अन्य सांसद भने प्रदेशसभामा विश्वासको मत फेल गराउने लक्ष्यका साथ अनुपस्थित भएका थिए । गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले सोमबार विश्वासको मत लिएका हुन् । सभामुखले राजीनामा दिएसँगै उपसभामुखले प्रदेशसभा चलाउनुपर्ने भए पनि उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं लागेसँगै प्रदेशसभामा सुरुमा अन्योलता र पछि विवाद भएको हो ।
यससँगै ज्येष्ठ सदस्यको हैसियतमा कांग्रेस प्रदेशसभा सदस्य मन्सुरीले सभाको अध्यक्षता गर्ने बाध्यता आएको थियो । प्रदेशसभामा विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । यस्तै, सत्ता गठबन्धनको मन्सुरीसहित ४७ सांसद थियो । जुन प्रदेशसभामा कायम कुल सदस्यको बहुमत हो ।
पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो । त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।
पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम रहन्छ । तर, उनले सोमबार नै विश्वासको मत लिन लिएका हुन् । मन्सुरीको मत नपाएको भए मुख्यमन्त्री थापाले विश्वासको मत नपाउने निश्चित थियो । त्यसैले उनले पनि थापालाई विश्वासको मत दिए । प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरि प्रश्न उठेको छ । अब यसबारे फेरि अदालतमा मुद्दा पर्ने सम्भावना छ ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले प्रदेशसभाको औचित्य दर्शाउनका लागि सभाध्यक्षको मत प्रयोग गरिएको प्रतिक्रिया दिएका छन् । विश्वासको मत पाएको घोषणापछि मुख्यमन्त्री थापाले भने, ‘प्रदेशसभा चाहिन्छ भनेर नै यो निर्णयमा पुगेको हो । यो निर्णयबिना अर्को विकल्प के छ ? प्रदेशलाई सरकारविहीनता राख्ने हो त ? गणित त्यस्तै थियो ।’ असंवैधानिक काम भएको विषयमा पत्रकारले प्रश्न गर्दा थापाले अब अदालतले निर्णय दिने बताए ।
संविधानको धारा १८६ मा भनिएको छ, ‘प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर, मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ ।’
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेशसभाको अध्यक्षता गर्ने सांसदको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घटना निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरे । प्रदेशसभाको बैठकपछि कार्कीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संविधान र कानुनको उल्लंघनले पराकाष्ठा नाघेको बताए ।
सत्ता गठबन्धनले पहिलोपटक गरेको संविधान उल्लंघनलाई अदालतले सच्याएकोमा फेरि सोही बाटोमा गएको आरोप एमालेको छ ।
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले पाएको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठ्नसक्ने कानुनविद्ले बताएका छन् । अध्यक्षता गरिरहेका भएका इस्राइल मन्सुरीले समेत मत दिएको कदम अवैधानिक रहेको कानुनविद् विपिन अधिकारीले बताए। उनले भने, ‘यसले अस्थिरता मात्र निम्त्याउँदैन, अराजकता पनि भित्र्यायो, राज्य सञ्चालकले नै कानुन मिच्ने काम गरे ।’ ‘संविधानअनुसार चल्नुपर्ने सांसदहरूमाथि केन्द्रका दलको निर्देशनबाट चल्दा यो समस्या देखिएको भन्दै अधिकारीले भने, ‘संविधानअनुसार चल्नुपर्ने सांसदहरूमाथि केन्द्रका दलको निर्देशनबाट चल्दा यो समस्या देखिएको हो, अहिलेको कदम अवैधानिक हो । यसबारे अदालतले केही निर्णय गर्ला ।’
राप्रपाले कोशीको मुख्यमन्त्री उद्धव थापालाई आफूहरुले आफ्नै रणनीतिअनुसार सत्तारोहण गर्ने जवाफ दिएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमार्फत थापालाई आफूहरुले आफ्नो रणनीतिअनुसार सत्तामा जाने बताएका हुन् ।
उनले लेखेका छन्, ‘राप्रपाले सत्तामा नजाने भनेर कसम पनि खाएको छैन है । आवश्यकता अनुसार सत्तामा जान पनि सकिन्छ तर तपाईंको रणनीतिमा होइन हाम्रो रणनीति अनुसार सत्तारोहण गर्ने हो । हिजो पनि त्यसै ग¥यौ, भोलिका दिनमा पनि त्यसै गर्छौं ।’
थापाले आज प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गरेका छन् । उनले असंवैधानिक रुपमा सभाध्यक्षको समेत मत लिएपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।