बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गच्छदारलाई पनि सीआईबीले लियो बयान

मंगलबार, भाद्र ५ २०८०

काठमाडौं । ललितानिवास प्रकरणको अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएको छ ।

उनीसँग सीआईबीले सोमबार साँझ बयान लिएको हो । पक्राउ पुर्जी भएका गच्छादारलाई बोलाएर सीआईबीले बयान लिएको हो । सीआईबीलाई पूर्वप्रधानमन्त्री र मन्त्रीलाई अदालत पेस नगर्न राजनीतिक दबाब छ ।

यस अघि आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोमबार बिहान डा। बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान कागज गराएको थियो ।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरु गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पूर्वमन्त्री जोशीलाई पनि सीआइबीले बयान लिएको छ ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।

मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव तत्कालीन भूमिसुधार मन्त्री  गच्छदार र सो रायसहितको मिसिल तयार पार्ने काम सहसचिव नारायणगोपाल मलेगोले गरेका थिए । मोहीलाई सट्टा भर्ना दिने क्रममा हुँदै नभएको मोही खडा भएर ‘भूमाफिया’को कब्जामा सरकारी जग्गा गएको पाइएपछि उनीहरु यो प्रकरणमा मुछिएका हुन् ।