काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् ।
पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकखण्ड र मेलम्ची–भोताङ सडकखण्ड, मुगुको जुम्ला–नाग्म–मुगु सडकखण्ड, डडेल्धुराको डडेल्धुरा–दिपायल सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै, पाल्पाको सिद्धार्थ राजमार्ग, रोल्पाको थवाङ जाने सहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व) को मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धारकार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएको छ ।
अत्याधिक बर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् ।
मोरङ र सप्तरीको सिमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका सबै ३६ वटा ढोका खोलिएका छन ।
दुवै नदीले खतराको सुची पार गरे पछि आवाश्यक सतर्कता अपनाउन नदीका तटिय क्षेत्रका बासिन्दालाइ पुर्व सुचना दिइएको छ ।
गण्डक ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको छ भने ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह भइरहेको जनाइएको छ ।
उता, बिगत ३५ बर्ष पछि कोशीमा सबैभन्दा बढी पानी बगेको छ । पानीको बहाव अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको जनाइएको छ । सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको रेकर्ड गरिएको थियो ।
महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज) मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ ।
भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक देवसिंह बडालले आज बिहानैबाट पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिए ।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्रमा सयौ घरबार विहीन
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले ठूलो क्षति गरेको छ ।
कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ ।
गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० भन्दा बढी घर÷होटल बाढीले भत्काएको बताए ।
कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पु¥याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । कागबेनीको बीच भाग भएर कागखोला बग्छ ।
बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडक अन्तरगत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ ।
पुलको सल्याब बाढीले बगाएर केही तल पु¥याएको छ । पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो ।
तस्वीरमा मुस्ताङको वारागुुरुङ मुुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार राति आएको बाढीले पु¥याएको क्षति ।
तस्बिर सौजन्यः जनस्वास्थ्य निरीक्षक वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका खगेन्द्र बोहोरा