बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजनीति

आत्तिए उपेन्द्र

बुधबार, साउन २४ २०८०

काठमाडौँ – गौर हत्याकाण्डको छानबिन गर्ने तयारीका साथ सरकारले पीडित पक्षसँग सहमति गरेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आपत आइलागेको छ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार पाँच बुँदे सहमति भएको हो ।

सरकार र समितिबीच घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरूको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ ।

उक्त सहमतिपछि जसपा अध्यक्ष यादव अत्तालिएका छन् । मंगलबारदेखि नै उनी छलफलमा जुटेका छन् । मंगलबारै आफ्ना पार्टीका शीर्ष नेता र सांसदहरुसँग छलफल गरेका यादवले बुधबार कार्यकारिणी समितिको आकस्मिक बैठक राखे ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा बसेको कार्यकारिणी समितिको बैठकमा गौर हत्याकाण्ड छानबिनका लागि समिति बनाउने सरकारको निर्णय र त्यसले उत्पन्न गर्ने सम्भावित परिस्थितिका सम्बन्धमा छलफल भएको बताइएको छ ।

यस विषयलाई लिएर अध्यक्ष यादवले बुधबार सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार यादवले ‘आफूलाई फसाउनका लागि समिति बनाउन लागेको’ भन्दै देउवासमक्ष गुनासो राखेका छन् ।