काठमाडौं – मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सुयस प्याकुरेलको एमएम प्लाष्टीक प्याक्ट्रीमा इन्भर्टरको ब्याट्री सर्ट भई गएराति आगलागी हुदाँ ब्याट्री, एसी, इन्भर्टर पूर्णरुपमा र घरको केही भाग जलेर करिब २ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१४ नारायणचोक बस्ने असरफ अंसारीको नेपाल कपास उद्योगमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा कपास, सिरक, डसना र कपास बनाउन प्रयोग हुने मेसिनसमेत पूर्ण रुपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोट राष्ट्रियचोकस्थित मिना लामाको खत्री स्टोर किराना पसलमा मंगलबार राति आगलागी हुँदा खाद्यान्न लगायतका सर–सामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दार्चुला, महाकाली नगरपालिका–४ रिङन तालस्थित जमन सिंह धामीको ट्रेडर्स तथा ईलेक्ट्रोनिक पसलमा विद्युतको तार सर्ट भई मंगलबार राति आगलागी हुँदा ईलेक्ट्रिक सर–सामानहरू जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको बिवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।