बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १८ जना पक्राउ

सोमबार, साउन २२ २०८०

काठमाडौं – बाराको जितपुरसिमरा उपमहानगहरपालिका–२२ स्थित २ नम्बर जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५७ केजीसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३९ वर्षीय रोशन नेगीसमेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका बनाई ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नेगीलाई उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट अवैध लागूऔषध गाँजा ३ किलो ४ सय ग्रामसहित भारत फार्विसगंज–१२ बस्ने ३० वर्षीयको गुद्दु साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले बीआर ३८ एन ५२२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

काठमाडौंको तारकेश्वबर नगरपालिका–३ तिनपिप्लेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ग्रामसहित सोही नगरपालिका–५ गोलढुङ्गा बस्ने २५ वर्षीय जक्सन महर्जन समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट खटिएको प्रहरीले बा.२ ख ३०२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरबाट अवैध लागूऔषध खेरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय खगेन्द्र बाठामगर समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलो १ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–४ खलंगा बस्ने ६६ वर्षीय मान सिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टी मलमटे बस्ने ७० वर्षीय गौर सिंह ठगुन्ना रहेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।