बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जिल्ला तानिए काठ तस्करमा संलग्न इन्स्पेक्टर

बुधबार, साउन २ २०७५

डोटी साउन, २–
अवैध सिसौको काठ बोकेको ट्रयाक्टरसहित स्थानीयले नियन्त्रणमा लिएका डोटीको वीपीनगर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहरा जिल्लामा तानिएका छन् ।  

स्थानीय युवाले गत  सोमबार राति प्रहरी निरीक्षक बोहराले काठ तस्करी गरेर धनगढीतर्फ लैजाँदै गरेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएका थिए । 

काठ चोरी गर्नमा प्रयोग गरिएको से १ त ५१८९ नम्बरको ट्याक्टर समेत स्थानीयले नियन्त्रणमा लिएका छन् । 

स्थानीयहरुका अनुसार प्रहरी निरीक्षक बोहराले ६ वटा सिसौका गोलिया ट्याक्टरमा लोड गरेर लैजाँदै गरेका थिए । उनले काठ लोड गर्नमा समेत प्रहरीलाई नै प्रयोग गरेको स्थानीयहरुको आरोप छ ।

बरामद गरेको काठ र ट्रयाक्टर अहिले विपीनगर प्रहरी चौकी नजिक राखिएका छन् ।

काठ चोरीको आरोप लागेका प्रहरी निरीक्षक बोहरालाई कारबाहीको माग राख्दै स्थानीयले इलाका प्रहरी कार्यालय विपीनगरमा धर्नासमेत दिएका छन् ।

स्थानीयहरुले इलाका वन कार्यालय, वीपीनगरमा प्रहरी निरीक्षक बोहराविरुद्ध काठ चोरीको मुद्दा दर्तासमेत गराएका छन् ।

जिल्ला वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेश रोकायले आफूले घटनाका बारेमा बुझिरहेको बताए । उनले काठ चोरेको प्रमाणित भएमा अवैध काठ ओसार–पसार कसुरमा कारबाही हुने बताए ।

सात नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिराज वाग्लेले घटनाका बारेमा थाहा पाएलगत्तै प्रहरी निरीक्षक बोहरालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको बताए । उनले अहिले उक्त स्थानमा प्रहरी उपरीक्षक ध्रुवबहादुर विष्टलाई पठाएको जानकारी दिए ।

एसएसपी वाग्लेले घटनामा प्रहरी निरीक्षक बोहोराको संलग्नता देखिए उनलाई विभागीय कार्बाही गरिने बताए ।

चोरीमा संलग्न प्रहरीले उल्टै धम्की दिइरहेको स्थानीय टेकबहादुर बोहराले गुनासो गरे ।