धनगढी । बजेटलाई लिएर सत्ता साझेदार दलहरुमै असन्तुष्टि बढेपछि सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट देखिएका थिए ।
सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको थियो।
आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफना दल नेतासँग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने उनीहरुले बताएका थिए ।
उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका थिए ।
तीन दलले बजेट पारित गर्न नसकिने निर्णय गरेलगत्तै सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरि सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ ।