काठमाडौं असार, २६–
आफ्ना मान्छे सेटिङ गर्न बुधबार राति ११ बजे मन्त्रिपरिषदले गत भदौ १४ यता अघिल्लो सरकारले गरेका सबै नियुक्ति बदर गर्ने निर्णय गरिदियो । त्यो निर्णयमा सात प्रदेशका सात प्रदेश प्रमुख पनि पर्ने नै भए । तर केपी शर्मा ओलीकी शुभचिन्तक तथा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सुझावपछि अलमलको स्थिति सिर्जना भएको छ । प्रदेश प्रमुख हटाउने आफ्नो निर्णयबाट सरकार तत्कालका लागि पछाडि हट्ने बुझिएको छ । उच्च राजनीतिक स्रोतका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीले सत्तापक्ष र प्रतिपक्षबीच सिधै टकराव बढ्ने र यसले संसदको कामकारवाही प्रभावित हुन सक्ने भन्दै सरकारलाई आफ्नो निर्णय कार्यन्वयनमा पुनर्विचार सुझाव दिएकी छिन् ।
प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था हुने भएकोले पनि यस विषयमा भण्डारीले चासो लिएकी हुन् । बुधवार मन्त्रिपरिषद्को बैठकमा प्रदेश प्रमुखहरुलाई हटाउने निर्णय भएको थियो । प्रदेश प्रमुखलाई हटाउँदा प्रदेश संसद् र प्रदेश सरकारको वैधानिकतामाथि समेत प्रश्न उठ्ने भएपछि सरकार पछाडि हट्ने भएको हो ।
१४ भदौ ०७४ पछि तत्कालीन सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने मन्त्रिपरिषद्को निर्णयबाट प्रदेश प्रमुखको नियुक्ति प्रभावित हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा सञ्चारमन्त्री गोकुल बास्कोटाले शुक्रवार भनेका छन्, ‘प्रदेश प्रमुखको नियुक्ति छुट्टै सन्दर्भ र कानुनी प्रक्रियाबाट भएको हो । यसको विषयमा निर्णय लिन पनि छुट्टै कानुन आकर्षित हुन्छ । अहिले मन्त्रिपरिषद्ले निर्वाचन आचारसंहिता लागू भएको मिति १४ भदौ ०७४ देखि नयाँ सरकार बन्नुअघिसम्म मन्त्रिपरिषद् र मन्त्रालयको निर्णयबाट समिति, संस्थान, प्रतिष्ठान, बोर्ड, प्राधिकरण, कम्पनीमा भएका नियुक्ति खारेज हुने भनेको हो ।’
उनीहरुको नियुक्ती खारेज हुँदा उनीहरुले सपथ खुवाएका संसद र मुख्यमन्त्रीको पदमाथि पनि प्रश्न उठन सक्ने काँग्रेसको तर्क छ ।
संविधानको धारा १६३ को उपधारा ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनु अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्ष हुने उल्लेख छ । धारा १६५ को उपधारा १ मा राष्ट्रपतिसमक्ष राजिनामा दिएमा, निजको पदावधि सकिएमा वा त्यस अगावै राष्ट्रपतिले हटाएमा प्रदेश प्रमुख रिक्त हुने उल्लेख छ ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखका रुपमा सिफारिस गरेको थियो । अमृतबजार साप्ताहिकमा खबर छ ।