बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वन तथा वातावरण मन्त्रीद्वारा जङ्गी अड्डाको भ्रमण

शुक्रबार, असार ८ २०८०

काठमाडौं – प्रकृति संरक्षण अन्तरगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय र वन तथा पर्यावरण सुरक्षा निर्देशनालय मार्फत नेपाली सेनाले संचालन गरिरहेका विविध गतिविधिहरुको बारेमा जानकारी लिने उद्देश्यले वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोले जंगी अड्डाको भ्रमण गरेका छन् । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले उनलाई जंगी अड्डामा स्वागत गर्दै वि.सं.२०३२ सालदेखि नेपाल सरकारको निर्णय बमोजिम नेपाली सेनाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षित क्षेत्रहरुमा तैनाथ रहि विविध सीमितताका बाबजुद वन्यजन्तु तथा प्रकृति संरक्षणका क्षेत्रमा गरिरहेका सार्थक प्रयासहरुको बारेमा उल्लेख गरे । उनले हाल नेपाली सेनाको लगभग १० प्रतिशत फौज प्रकृति संरक्षण कार्यको लागि तैनाथ रहेको जानकारी गराए ।

वन तथा वातावरण मन्त्रीले प्रकृति संरक्षणका क्षेत्रमा हाल प्राप्त उपलव्धीहरुमा नेपाली सेनाको भूमिकाको प्रशंसा गरे । उनले नेपाली सेनाको सहभागिता विना प्रकृति तथा पर्यावरण संरक्षणका प्रयासहरु प्रभावकारी नहुने स्पष्ट पार्दै संरक्षण कार्यमा परिचालित फौज एवं कर्मचारीहरुलाई परेको भौतिक पूर्वाधारको कमी लगायतको समस्यासँग आफू परिचित रहेको र उक्त समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने बताए । सोही क्रममा उनले जलवायु परिवर्तनले पारेको असर, मानव वन्यजन्तु द्वन्द्व र मानव अतिक्रमण प्रकृति संरक्षणमा मुख्य चुनौतीका रुपमा रहेको कुरा औंल्याउँदै प्रकृति संरक्षणमा प्रविधिको प्रयोग बढाउनु पर्ने बिचार व्यक्त गरे । चुरे क्षेत्र संरक्षणका लागि नेपाली सेनाबाट तैनाथ फौजको संख्या बढाउँदै लैजान जरुरत रहेको उल्लेख गर्दै वन तथा वातावरण मन्त्रीले जलश्रोत र वनजंगल नेपालको महत्वपूर्ण श्रोत रहेकोले उक्त श्रोतहरुको उचित सदुपयोगले नेपाल समुन्नत बन्न सक्ने हुँदा यसको संरक्षण अति आवश्यक रहेको कुरा उल्लेख गरे ।

त्यस अवसरमा रक्षा सचिव श्री किरण राज शर्माले नेपालको प्रकृति संरक्षणमा सरकारको नीति, भईरहेका गतिविधि, उपलब्धि तथा क्षतिको बारेमा अन्तराष्ट्रिय चासो रहेको र नेपालले गरिरहेको संरक्षण पहलकदमीको सबैले निगरानी गरिरहेको उल्लेख गर्दै नेपाली सेनाले प्रकृति संरक्षण र चुरे क्षेत्रको पर्यावरण संरक्षणमा पुर्यालएको योगदान अतुलनीय रहेको विचार व्यक्त गरे । उनले चुरे क्षेत्र तराई मधेश क्षेत्रको जीवनसँग जोडिएको हुँदा चुरे क्षेत्रमा भईरहेको बिनाशलाई रोक्न अतिआवश्यक रहेको उल्लेख गर्दै यसका लागि हालको संरक्षण संरचनाले मात्रै पर्याप्त नहुने देखिएकोले विशिष्ट जिम्मेवारी सहित संरक्षण योजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए ।

आजको कार्यक्रममा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा महानिर्देशक डा. महेश्वर ढकाल, बलाधिकृत रथी, बलाध्यक्ष रथी, अन्य रथीवृन्द, वन तथा वातावरण मन्त्रालयका पदाधिकारीहरु तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।