बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कोशी प्रदेशमा बाढी पहिरोका कारण एक जनाको मृत्यु, २६ जना बेपत्ता

आइतबार, असार ३ २०८०

काठमाडौं । पछिल्लो दुई दिनदेखि पूर्व नेपालको कोशी प्रदेशको पहाडी जिल्लाहरुमा भारी बर्षा भइरहेको छ । अविरल वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लामा ठूलो क्षति समेत भएको छ ।

बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा पुल भत्किएका छन् । जसका कारण राजमार्ग अवरुद्ध भएका छन् ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन्। खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ ।

मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् ।
अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ ।

गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् ।

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।