काठमाडौं – इ–सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत अब विदेशबाट इ–सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिटेन्स नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका दुई सय ५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यस सम्झौता बमोजिम अब विदेशमा रहेका नेपालीहरूले सिधै नबिल बैंकको खातामा पैसा पठाइ नगद भुक्तानी गर्न सक्नेछन् ।
सम्झौता पत्रमा इ–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन् ।
इ–सेवा मनी ट्रान्सफरले इ–सेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूको साथै विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आइरहेको जानकारी दिएको छ ।