काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस सुनिरहेका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानले मंगलबारसम्म बहस सक्न आग्रह गरेका छन्।
अघिल्लो आइतबारदेखि सुरु भएको थुनछेक बहस मंगलबार (जेठ ३० गते)सम्म सक्न उनले आग्रह गरेका हुन्। न्यायाधीश न्यौपानेले भने, ‘मंगलबार बहस सकाउनुपर्छ। तपाईंहरुले सहयोग गर्नुहोस्। म दुई हात जोडेर भन्छु ढिलो नगरौँ। मंगलबार बहस सकौँ।’
जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकणमा ३० जनाविरुद्ध पाँचवटा अभियोगमा मुद्दा दायर गरेको छ।
आइतबारसम्मा नौ जना प्रतिवादीका वकिलहरुले बहस सकेका छन्। केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, इन्द्रजित राई, सन्दिप रायमाझी र टोपबहादुर रायमाझीका वकिलले बहस सकेका छन्। त्यस्तै आइतबार निलम्बित सचिव टेकनारायण पाण्डेका तर्फबाट पनि बहस सकिएको छ।
पक्राउ परेका १८ मध्ये नौ जना प्रतिवादीका तर्फबाट थुनछेक बहस बाँकी रहेका बेला न्यायाधीश न्यौपानले मंगलबारसम्मको समय दिएका हुन्। बहस हुन बाँकी मध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँडका तर्फबाट धेरै जना वकिलले वकालत नामा लेखाएका छन्।
उनका तर्फबाट २० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने तयारी गरे पनि समय अभावका कारण सीमित वकिलले मात्रै खाँडको प्रतिरक्षा गर्नेछन्।
काठमाडौँ जिल्ला अदालतले थुनछेक बहसको आदेश ढिलोमा बिहीबारसम्म दिनसक्ने गरी आन्तरिक तयारी समेत गरेको स्रोतले जानकारी दियो।