काठमाडौं । आज तत्कालीन राजाको सम्पूर्ण परिवारकै हत्या गरिएको दुखद् दिन । तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको २२ वर्ष पुगेको छ।
२०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका दसजनाको हत्या भएको थियो।
नारायणहिटी दरबार हत्याकाण्ड भएको पनि २३औं वर्ष प्रवेश गर्यो । जनताले असाध्यै भरोसा गरेका, स्नेह र आदर गरेका राजा वीरेन्द्रको परिवार र नातागोतासमेत १० जनाको इहलीला समाप्त भएको दिन विश्व इतिहासकै अत्यासलाग्दो घटना हो ।
जेठ १९ गतेको दरबार हत्याकाण्ड अहिले हरेक वर्ष सम्झिएर मात्र बित्ने गरेको छ। राजपरिवारका सबै सदस्य सहभागी भएको रात्रिभोजमा भएको हत्याकाण्ड अहिलेसम्म कसरी भयो भन्ने तथ्य सार्वजनिक हुन सकेको छैन। दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशमात्र सकिएन यो षड्यन्त्रको पर्दाफास हुन नसक्दा आजसम्म घटनामाथि आशंका बाँकी नै छन्। उक्त रहस्यमय दरबार हत्याकाण्डका साक्षी जीवित पात्र अझै धेरै छन् तर त्यस घटनाबारे अहिलेसम्म कोही बोल्न नचाहानुको कारण बुझ्न सकिएको छैन ।
नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुसन्धान र खोजी जरूरी छ । एउटा शान्त र स्थिर संवैधानिक शासकका रूपमा परिचय बनाएका राजा वीरेन्द्रलाई अनेक प्रपञ्च रची वंशनास हुनेगरि किन यति विध्नको घटना भयो भन्ने जिज्ञासा आम नेपालीको जिवित नै छ ।