काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै १ अर्ब भन्दा बढी ठगी भएको प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आधारमा पूर्वसभासद् एवं कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ । शेर्पाले नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि अर्का आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेलेको आरोप छ ।
बुधबार खाँण पक्राउ परेलगत्तै मैजुबहालस्थित घरमा ताला लगाएर शेर्पा फरार भएका हुन् । उनको घरमा केही प्रमाण भेटिन सक्ने भएकाले बिहीबार प्रहरीले ताला फुटाएर खानतलासी गरेको थियो । घरमा कोही पनि नभेटिएको र त्यससम्बन्धी विवरण पनि केही बरामद हुन नसकेको स्रोतको भनाइ छ । यद्यपि, अमेरिका पठाइदिने भनेर बिचौलियाहरूसँग पैसा लेनदेनमा शेर्पाको पनि भूमिका रहेको सूचना प्रहरीले पाएको छ ।
चैतको दोस्रो साता ठगीमा संलग्न केही बिचौलिया पक्राउ परेलगत्तै खाणको प्रतिनिधि बनेर शेर्पा १८ चैतमा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । पैसा फिर्ता गराइदिने आश्वासन दिँदै उनले बयानमा खाँणको नाम नपोल्न प्रस्ताव गरेका थिए । एक–दुई दिनमै केही रकम फिर्तासमेत गरिएको सूचना प्रहरीले पाएको छ । यो विषय बलियो प्रमाण हुने भएकाले प्रहरीले शेर्पाको खोजी गरिरहेको छ ।
२०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा नेपाली कांग्रेसमा आबद्ध छन् । उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी ठेकेदार पनि हुन् ।