बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पुल निर्माणमा पप्पुको गम्भीर लापरवाही

सोमबार, जेष्ठ २८ २०७५

काठमाडौं जेठ, २८–
 काठमाडौं दिगो शहरी यातायात आयोजनाले टेकु र डल्लु पुल निर्माणका क्रममा गम्भीर गल्ती गरेको भन्दै ठेकेदार कम्पनी जेडआइइसी पप्पु जेभीलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

ठेकेदार कम्पनीले इन्जिनियरको सुझाव लत्याएर निरन्तर काम अघि बढाएको सूचनामा उल्लेख गरिएको छ।  ठेकेदार कम्पनीले गरेको काममा इन्जिनियरले कडा आपत्ति जनाउँदा पनि उनीहरुले काम रोक्नुको साटो थप अघि बढाएको भन्दै आयोजनाले हदैसम्मको लापरबाही भएको ठहर गरेको छ ।

इन्जिनियरले तत्काल अघि नबढाउन निर्देशन दिएको भए पनि ठेकेकदारले भने पुलको पक्की आधार संरचना (प्रि स्ट्रेस कंक्रिट ग्रिडर र जडान संयन्त्र)को काम अघि बढाएको आयोजनाले जनाएको छ । आयोजनाले तत्काल सम्पूर्ण काम रोकेर लिखित जवाफ दिन निर्देशन दिएको छ। जवाफ प्राप्त नभएमा ठेक्का सम्झौताअनुसार गम्भीर निर्णय लिइने सूचनामा उल्लेख छ ।
’कामको गम्भीरता र पुलको सुरक्षालाई मध्यनजर गरी, यस कार्यालयबाट तपाईंहरुलाई पुलको सम्पूर्ण काम यथास्थानमा राखी थप अघि नबढाउन भनिएको थियो । तत्काल काम अघि नबढाउने हाम्रो निर्देशनलाई अवज्ञा गर्दै तपाईंहरुले टेकु पुल निर्माणको काम अघि बढाएको भेटियो,’ सूचनामा भनिएको छ, ’यसबीचमा हामीसँग सल्लाह विना पुलको डेक स्लाब पनि निर्माण सम्पन्न भइसकेको भेटिएको छ । हामीले यो कामलाई तपाईंहहरुको तर्फबाट भएको लापरबाहीको अधिकतम विन्दू मानेका छौँ।’
आयोजनाले काम सन्तोषजनक नभएको भन्दै पटक पटक रोक्न निर्देशन दिँदा पनि ठेकेदारले भने त्यसको अवज्ञा गरेर काम अघि बढाइरहेको पाइएको पनि सूचनामा उल्लेख गरेको छ । पप्पुले अघि बढाएका धेरै आयोजनामा यस्तै समस्या दोहोरिरहेको छ । पप्पुले अघि बढाएका अधिकांश पुलहरु समयमा सम्पन्न भएका छैनन् भने बनेका पुल पनि न्यून गुणस्तरका देखिएका छन् ।