काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलेको हो ।
प्रधानमन्त्रीको निमन्त्रणामा उनीहरु बालुवाटार पुगेका हुन् । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सोमबार मात्र संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो । उनको नाम अनुमोदन गर्नका लागि संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने छ ।
त्यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि संसद्मै विचाराधीन रहेको छ ।
त्यस्तै, राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा पनि तीन नेताबीच छलफल हुने बताइएको छ ।