शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

शरणार्थी प्रकरण

दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा एमाले किन्चित तलमाथि गर्दैन : अध्यक्ष ओली

सोमबार, बैशाख २५ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा प्रधानमन्त्री पुष्पकमल दाहालको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कसैलाई बचाउने र कसैलाई फसाउने नियतका साथ ‘म कसैलाई छोडदिन’ भन्ने अभिव्यक्ति दिएको जिकीर गर्दै त्यसलाई सफल हुन नदिइने चेतावनी समेत दिए ।

आईतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै ओलीले कसले छोडन दवाव दिएको हो ? प्रष्ट पार्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए । आफूले र आफ्नो पार्टीले सो प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरालाई किन्चित तलमाथि नगर्ने प्रष्टयाउँदै ओलीले सो प्रकरणमा एमालेलाई फसाउने षडयन्त्र नगर्न पनि सचेत गराए ।

प्रधानमन्त्री प्रचण्डले शनिबार ओलीसँगको भेटपछि आफूले कसैलाई पनि नछोडने अभिव्यक्ति दिएका थिए । त्यसप्रति ओलीको आपत्ति छ । आफूलाई भेट्न बोलाएर आफैलाई दोषी देखाउनेगरी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आफूलाई सैह्य नहुने ओलीको भनाई थियो ।

उनले भने, ‘पुष्पकमल दाहालजी के बोलेको त्यो ? छानवीन गरौं न पुष्पकमल दाहाल । कसलाई धम्क्याएको ? टेलर हो भनेर । सार्वजनिक गरिन्छ भनेर । म माननीयजीहरुलाई भन्न चाहन्छु–पुष्पकमल दाहाल, चोरलेृ उल्टै हप्क्याई दब्क्याई गर्छ भन्ने हिन्दी भनाई छ । छानवीन गर्न छोडेर मलाई चाँही चिसो भुईँमा बस्ने पठाउने भनेर भन्ने । हामीले पठाएको हो ? उनी आफैं गएका होइनन । चिसो भूईँमा बस्यो भनेर मेरो खिल्ली उडाउनेहरुलाई देखाईदिन्छु । यसको छानवीन गर्नु पर्छ कि देखाई दिन्छु भन्ने ? के देखाई दिन्छु भन्या ? म प्रधानमन्त्रीजीलाई भन्नु चाहन्छु चुनौतिका साथ देखाउनुस, के देखाउनु हुन्छ देखाउनुस । दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा नेकपा एमाले किन्चित तलमाथि गर्दैन । दृढ छ कारबाही हुनुपर्छ भन्ने कुरामा । जो निर्दोष छ । उसलाई फसाउन खोजियो भने, हामीलाईं ३२ सिटे भन्ने ? देखाउँछु भनेको के ? सरकारले काम गर्ने हो । अनि फाईफूर्ति गर्ने हो ? यो छानवीन गर्ने प्रचण्डको कुनै पुरुषार्थ हो । यो त भदौं २२ गते हामीले आवाज उठाएको हो । राष्ट्रियसभामा हामीले आवाज उठाउन सुरु गरेका हाै‌ । अनि, हामीले भदौदेखि आवाज उठाएको नसुनेर त्यतिखेर देखिनै छानवीन गर्नु पर्दैन थियो । ?

ओलीले सो प्रकरणमा एमालेलाई फसाउने प्रयास नगर्न पनि चुनौति दिए । उनले वर्तमान सरकारजस्तो प्रतिपक्षी विरोधी सरकार आफूले ५८ वर्षको आफ्नो राजनीतिक जीवनमा कहिल्यै नदेखेको आरोप समेत लगाए । अहिलेसम्म सरकारले केही पनि गर्न नसकेको उनले दावी गरे ।
अध्यक्ष ओलीले भ्रष्टाचार विरुद्धको मुद्धामा कडा ढंगले प्रस्तुत हुन पनि पार्टीका सांसदलाई निर्देशन समेत दिए ।