काठमाडौं – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको मुद्दामा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
२० वैशाखमा जिल्ला अदालत काठमाडौंले पाण्डेलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त तीन दिनको म्याद आज (आइतबार) सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्ने समय थप गरिदिन अदालतमा पेश गरेको थियो ।
त्यसपछि अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए । पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।