काठमाडौं – बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलीग्रामसहित सोही गाउँपालिका–६ मैनापोखर बस्ने १८ वर्षीया आस्मा चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाको कन्काई नगरपालिका–३ सुरुङ्गाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित बाह्रदर्शी गाउँपालिका–४ बस्ने ३९ वर्षीय बुधना आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर भंसार ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित गौरीगंगा नगरपालिका–८ बस्ने १९ वर्षीय राममाया कुस्मीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउन सुगरसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ८० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–२ मोतीपुर बस्ने २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौरा बस्ने ३३ वर्षीय प्रेम सुनार रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र सुनारलाई करिब ९ सय १० मिलिग्राम गरी जम्मा ३ ग्राम ८० मिलिग्राम उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।