काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका हुन् ।
“अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन”, उनले भने, “सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कामय गर्ने काम सूचनाको हकले गर्छ ।” उनले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र यसले जनस्तरमा सरकारले गरेका कामकारबाही जस्ताको तस्तै जाने बताइन् ।
सूचनाको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र नागरिकले सहजरूपमा सूचना पाउने बताइन्। सरकार पारदर्शी, सुशासन र सेवाप्रवाहका विषयमा गम्भीर रहेको र त्यहीअनुरूप काम गर्दै आएको स्पष्ट पारिन् ।
“संविधान र कानुन कार्यान्वयन गर्न पनि सूचनाको हकले काम गर्छ”, मन्त्री शर्माले भनिन्, “सरकारका कामकारबाही गलत भए खबरदारी गर्न पनि यसले सहयोग गर्छ ।”
उनले लोकतन्त्रको प्रभावकारी संयन्त्र सूचना आयोग भएको र यस्तो समग्र देशको उन्नति र समृद्धिमा काम गर्ने बताइन् । मन्त्री शर्माले नेपाली नागरिकको सूचनाको हक प्रचलन गर्नका लागि सरकारले आयोगको गठन गरेको स्मरणसमेत गराइन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुुल पोखरेलले सार्वजनिक निकायबाट सूचना प्रवाह अझै प्रभावकारी हुन नसकेको हुँदा अभियानकै रूपमा अगाडि बढाउनुपर्ने बताए ।
उनले सरकारको कम प्राथमिकतामा राखिएको जस्तो महसुस भएको उल्लेख गर्दै लोकतन्त्रको सुन्दर उपहार जनता र सरकारलाई जोड्ने सूचनाको हक नै भएको स्पष्ट पारे ।