बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

मंगलबार, बैशाख १९ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् ।

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताए ।

सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उनले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति, नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको बताए ।

चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययनकार्य भइरहेको उनको भनाइ छ । उहाँले सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे।

दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि सबै जिल्लामा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको जनाउँदै प्रधानमन्त्री दाहालले अप्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूतगतिमा अघि बढाइएको बताउनुभएको छ । आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पु¥याउने सरकारको लक्ष्य रहेको उनले प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री दाहालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम जनताको जीवनमा रुपान्तरण ल्याउनका लागि सबै पक्षसँग अपिल गरेका छन् । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज देशव्यापी रुपमा छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै पछिल्ला दिनमा नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेका छन् । सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् ।