सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुध्रिएनन् दावा लामा, खोलाको बालुवामा गर्नथाले रजगज

सोमबार, बैशाख १८ २०८०

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाको मिलेमतोमा बालुवा बेचविखन हुने गरेको खुलासा भएको छ । टेण्डर आव्हान नभै खोलाको बालुवा राता रात अनाधिकृत रुपमा टिपरमा चोरी हुन थालेको छ । आइतबार राति दोलालघाटमा स्थानीयले चारवटा टिपर समातेपछि यस्तो खुलासा भएको हो ।

सुनकोसी नदीको पशुपति बगरबाट गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी बालुवा बेचविखन गरेको खुलेको छ । दोलालघाटमा आइतबार राति स्थानीयले बालुवा लोड भएका टिपर समातेपछि टिपर चालकले गाउँपालिकालाई कर बुझाएर बालुवा ल्याएको बताएका थिए । उनीहरुले  रु २५०० को गाउँपालिकाको करको रसिद र अर्को १०० रुपैयाँको सवारी करको रसिद देखाउँदै माथिबाटै मिलाएर आएको समेत बताएको स्थानीयले बताएका छन् । यसबारे गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलसँग फोन सम्पर्क गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

समाचार श्रोतका अनुसार यसरी राता रात अनाधिकृत रुपमा चोरी निकासी भएका विषयमा गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ उर्फ दावा लामाको हात रहेको स्थानीयले बताएका छन् । उनी यसअघि गुण्डा नाइकेका रुपमा परिचय बनाएका व्यक्ति हुन् । लामाकै मिलेमतोमा बालुवा बेचविखन भएको खुलेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको साविक भुम्लुटार गाविसका उनी यति बेला भुल्लु गाउँपालिकाका निर्वाचित उपाध्यक्ष समेत हुन् ।

उनी यसअघि नेपालमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । गुण्डा नाइकेका रुपमा परिचय बनाएका दावा लामामाथि २०७३ साल चैत २९ गते काठमाडौं कुमारीगालको दिब्या पार्टी प्यालेसमा गोली प्रहार समेत भएको थियो । त्यसपछि उनी भारतको सिक्किम बस्दै आएका थिए । चुनावको केही समयअघि मात्रै नेपाल प्रवेश गरेका उनी नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको राजनीतिमा होमिए ।  २०७७ साल माघमा दावाले तरुण दल काभ्रेको संयोजक र बागमती प्रदेशको उपसंयोजकको जिम्मा पाएका थिए ।

केन्द्र सरकार र पार्टीको प्रभाव देखाउँदै उपाध्यक्ष लामाले यति बेला स्थानीय प्राकृतिक स्रोतसाधनमा समेत कब्जा जमाएको स्थानीयको आरोप छ ।

आइतबार राति दोलालघाटमा स्थानीयले नियन्त्रणमा लिएका चार वटा टिपर जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको छ । प्रहरीले यो प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ ।