रुकुम जेठ, १८–
पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा
अध्यनरत विद्यार्थी कक्षा कोठामै मुर्छा पर्न थालेका छन् । कक्षा कोठामा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । स्थानीयले जनाए अनुसार बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दका अनुसार केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । उनले अन्य विद्यार्थीसमेत बिरामी पर्ने डरले विद्यालय बन्द गरेको बताए ।
उनका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुनेजस्ता लक्षण देखिने गरेको छ ।
गत मंगलबार र बुधबारमात्रै मुर्छामा परेका करीब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका अहेब खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ ।