काठमाडौँ – चुनाव आउन केही दिन मात्रै बाँकी रहँदा तनहुँ– १ को उपनिर्वाचन पेचिलो बन्दै गएको छ । तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा २०८० बैशाख १० मा उपचुनाव हुँदैछ ।
नेपाली काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीविच त्रिपक्षीय भिडन्तमा कस्ले बाजी मार्ला भनेर पूर्वानुमान गर्न कठिन देखिएको छ । यि तिन दलले तनहुँमा एकअर्काका मत तान्न यतिबेला चुनावी अभियान केन्द्रित गरेका छन् ।
तनहुँमा चुनावी माहोल हेरेर काठमाडौं फर्किएका काँग्रेस निकट एक पत्रकारका अनुसार चुनाव कस्को पोल्टामा पर्ने भन्ने पूर्वानुमान गर्न मुस्किल रहेको बताए । यी प्रमुख तीन पार्टी आफैमा ढुक्क हुन नसकेको स्थिति छ ।
तनहुँ– १ मा सत्ता गठवन्धनका उम्मेदवारका रुपमा काँग्रेसबाट गोविन्द भट्टराई चुनावी प्रतिस्पर्धामा छन् भने एमालेबाट सर्वेन्द्र खनाल भिडेका छन् ।
यस्तै रास्वपाले भर्खरै काँग्रेस छाडेका स्वर्णिम वाग्लेलाई चुनावी मैदानमा उतारेको छ । २०७९ मंसिर– ४ को प्रतिनिधि सभा चुनावमा उम्मेदवार रहेका गोविन्दराज जोशीको समर्थन वाग्लेलाई रहेको तनहुँबाट फर्किका ती पत्रकारले बताए ।
चुनावमा प्रमुख राजनीतिक दलहरूबाट तीनैजना ‘हेवीवेट’ उम्मेदवार रहेका कारण तनहुँको चुनाव रोचक बन्दै गएको हो । कांग्रेसले गोविन्द भट्टराईलाई जिताएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । २०७४ मा जितेको एमालेले पनि नतिजा उल्टाउन तनहुँमा सबै तागत लगाएको छ ।
यता वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी काँग्रेस र एमाले जुध्दा बिचबाट जित निकाल्न सकिने दाउमा छ । यसैकारण ‘सेलिव्रिटी’ उम्मेदवारका रुपमा वाग्लेलाई खडा गरेको छ ।
कांग्रेसका पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । उक्त चुनावमा जम्माजम्मी सा“ढे ५ हजार मतको फरक थियो ।
एक्लै चुनाव लडेका पूर्व कांग्रेस जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए । काँग्रेस निकट ती पत्रकार चुनावी समीक्षा सुनाउँदै भन्छन् ‘अहिले जोशी उम्मेदवार नहुँदा करिब ४ हजार मत कांग्रेसका उम्मेदवार भट्टराईको पोल्टामा आउँछ भन्ने दावी काँग्रेसको छ ।
उता जोशीले स्वर्णिमलाई समर्थन गरेका कारण ठ्याक्कै त्यस्तो अबस्था छैन । बढी मत वाग्लेकै पक्षमा जान्छ भन्ने धेरैको अनुमान छ । पूर्व काँग्रेस पृष्ठभूमिका कारण काँग्रेस र जोशीका बढी मत वाग्लेको पक्षमा जाँदा एमालेका सर्वेन्द्र खनाल झुल्कने संभावनालाई नकार्न सकिँदैन ।
उक्त क्षेत्रमा रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । उनी चर्चित उम्मेदवार भने थिएनन् । रास्वपाका अहिलेका उम्मेदवार चर्चित अनुहार रहेका कारण पुराना मत यथावत राख्दै काँग्रेस र जोशीका मत तान्दा कम्तीमा १२ हजार कटाउने अनुमान छ ।
वाग्ले युवा उम्मेदवार रहेका कारण कांग्रेसको पनि ठूलै संख्यामा सहानुभूतिको मत जाने अनुमान छ । ढुल्मुले मत, केही अन्य पार्टीहरूको मत पनि वाग्लेको पक्षमा जाने अवस्था रहेको बताइन्छ ।
तनहुँ– १ मा प्रत्यक्षतर्फ २५ हजार मत पाएको कांग्रेसले समानुपातिकमा भने २० हजार मात्रै ल्याएको थियो । प्रत्यक्षमा करिब २० हजार मत ल्याएको एमालेको पनि समानुपातिकमा १६ हजार मात्रै मत पाएको छ । बाँकी मत रास्वपामा गएको देखिन्छ ।
समानुपातिक तर्फ १२ हजार सात सय ७३ मत पाएर रास्वपा तेश्रो दल बनेको थियो । समानुपातिकमा माओवादीको ७ हजार तीन सय २६, राप्रपाको तीन हजार पाँच सय ७७ र एकीकृत समाजवादीको ८ सय ५० मत थियो । प्रमुख दलहरुको धरातलीय यथार्थ पनि यही नै हो ।
चुनाव जित्न काँग्रेस र रास्वपा उम्मेद्वारको टक्कर रहेको छ । मतका हिसावले सबै भन्दा ठूलो दल काँग्रेस रहेका कारण रास्वपाले काँग्रेसकै मत चोर्न सामदामका साथ उत्रेको जनाइएको छ । करिब १० हजार मत नयाँ थप्ने कसरतमा रास्वपा लागेको छ ।
यति मत थपे वाग्लेलाई उतार्न सकिने ध्याउन्नमा उसको छ । तर कांग्रेसका उम्मेदवार भट्टराई पनि नेवि संघको पूर्व सभापति, काँग्रेसको केन्द्रीय सदस्य हुँदै लामो समय काँग्रेस राजनीतिमा लागेर जनस्तरमा भिजेका हुँदा हराइहाल्न त्यति सहज भने छैन ।
अर्कापट्टी पूर्व आइजीपी रहेका एमालेका उम्मेदवार खनाल पनि चीरपरिचित मात्र नभै चर्चित पनि हुन् । एकजना तनहुँ काँग्रेसकै पुराना अनुभवी नेताका अनुसार भट्टराई र वाग्लेको टक्करका कारण पहिलेकै मत जोगाए मात्रै पनि एमालेका खनाल २१–२२ हजार मत सहित विचबाट उदाउन सक्ने संभावना बढेको छ ।
तनहुँका अर्का चर्चित व्यक्तित्व किसान श्रेष्ठले बाहिरी वा भित्री रूपमा पूर्व आइजीपी रहेका एमालेका उम्मेदवार खनाललाई साथ दिन पुगे भने उनैकाे भाग्य चम्किने सम्भावना प्रवल छ । अहिलेको चुनावमा रातारात कायापलट हुने अवस्था भने देखिँदैन । साँघुबाट