आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

हुम्लामा गरिबी, अशिक्षा र भोकमरीका बीच नुनमा कालाेबजारी

आइतबार, बैशाख ३ २०८०

काठमाडौँ – कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले राज्यको भएकाे अनुभूति गर्न पाएका छैनन ।

रोग र भोगले बाँचिरहेका हुम्लाका नागरिककाे अवस्था सुधार हुन सकेकाे छैन । गरिबी, अशिक्षा, भोकमरी त छँदैछ त्यसमा पनि राज्यबाट सहुलियत दरमा प्रदान हुने खाद्यान्न लगायत अन्य सेवामा पनि ठगिन पुगेका छन् ।

नेपाल सरकारबाट सहुलियत मूल्यमा प्रदान गर्ने नुन हुम्लीवासीले त्योभन्दा बढी मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । राज्यबाट प्राप्त सहुलियत दर नौ रुपैयाँमा बिक्री गर्नुपर्ने नुन १५ रुपैयाँमा बिक्री गरेर उपभाेक्तामाथि चरम अन्याय गरिएकाे छ । हुम्ला सदरमुकाम सिमिकोटदेखि करिब दुई तीन दिनको टाढा गाउँ चंखेली गाउँपालिकाका नागरिक एक पोका नुनको मूल्य १५ रुपैया तिरेर उपभोग गर्न बाध्य भएका छन् ।

हुुम्ला र मुगुका बोहोराबाडा, रिमीलगायत गाउँका स्थानीयवासी एक पोका नुनको मूल्य १५ रुपैयाँ तिरेर उपभोग गर्न बाध्य भएका हुन । सरकारबाट ९ रुपैयाँमा बिक्री भएकाे एक पोका नुनको १५ रुपैया तिरेर स्थानीय उपभोग गर्न बाध्य भएकाे हुम्लाको चंखेली गाउँपालिका वडा नं १ बोहोरावाडा गाउँका स्थानीय असौजे बोहोराले बताए ।

हुम्लामा एक पोका नुनको १५ रुपैयाँ पर्ने गरेकाे विषयमा जानकारी लिन खाेज्दा हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ अधिकारीले गैरजिम्मेवार जवाफ दिएनन् । न्युज कारखानाले हुम्लामा नुनमा भइरहेकाे कालाेबजारीबारे जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी श्रीनाथले भने, ‘यस्ता समस्या त नजिकका स्थानीय सरकार , वडा कार्यालयले सम्बोधन गर्ने कुरा हो । आफ्नो वडाको के समस्या छ, त्यो स्थानीय सरकारले गर्ने हो ।’

साल्ट ट्रेडिङ कर्पोरेशनको जिल्ला अध्यक्षमा प्रमुख जिल्ला अधिकारी रहेका हुन्छन् ।-न्युज कारखाना