काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह “बालेन”ले आफ्ना १४ बुदे माग संघीय सरकारले पुरा नगरे सम्म सिंहदरबारदेखि शीतल निवाससम्मको फोहोर नउठाउने अडान दोहोर्याएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बालेनको फोहोर नउठाउने निर्णयलाई अराजक र गैरजिम्मेवार ठहर गर्दै गम्भिर ध्यानाकर्षण गराएको भोलिपल्ट मेयर शाहले आफ्ना मागबारे वार्ता नभएसम्म फोहोर नउठाउने स्पष्ट पारेका हुन् ।
महानगर प्रमुख साहले सोमबार अघि सारेका १४ बुँदे मागबारे संघीय सरकार वार्तामा आएर पूरा गर्न तयार नभएसम्म सिंहदरबारको फोहोर नउठाउने निर्णयबाट पछि हट्न नसकिने अडानमा रहेको वडा नम्बर–११ का अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।
मेयर शाहको भनाइबारे उनले भने, ‘संघीय सरकारको असहयोगका कारण महानगरले काम गर्न कठिनाइ भएको छ । ती १४ कारण सम्बोधन भएपछि फोहोर उठ्छ ।’
वडाअध्यक्ष तण्डुकारले सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालयको फोहोर नउठे पनि सर्वसाधारणको नरोकिएको बताएका छन् । उनले भने, ‘सर्वसाधारणको घरको फोहोर उठाउन कहीँ रोकिएको छैन । यदि संघीय सरकारले महानगरका मुद्दा सुन्न तयार भए फोहोर भोलि नै उठ्न थाल्छ ।’