काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उदघाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन् ।
एमाले निकट युवा संघको नवौं राष्ट्रिय महाधिवेशन चैत २७–२९ गतेसम्म नेपलागञ्जमा हुँदैछ ।
सोही कार्यक्रमका लागि बुद्ध एयरको जहाजबाट अध्यक्ष ओली सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गरे ।
ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, भानुभक्त ढकाललगायतका नेताहरूलाई विमानस्थलमा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गरेका छन्।
उनलाई युवासंघका एमालेका नेता कार्यकर्तादेखि युवा संघका कार्यकर्ताले विमानस्थलमा लाइन लागेर फूलमालाले भब्य स्वागत गरेका थिए ।
नेपालगञ्जमा हुने महाधिवेसनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।
कार्यक्रमका लागि महासचिव शंकर पोखरेल, डा. राजन भट्टराई, युवा इन्चार्ज महेश बस्नेतलगायतका नेताहरू यसअघि नै नेपालगन्ज पुगिसकेका छन् ।
स्वागत लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सिँगारिएको छ, नगर र जिल्ला प्रवेश नाकाहरूमा स्वागत द्वार र झण्डा ब्यानरहरू लगाइएका छन् ।