काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको दाबी गरेका छन् ।
ढाका कुमारको सचिवालयले जारी गरेको विज्ञप्ति आफ्नो आवाज सम्पादन गरी नियोजित रुपमा षडयन्त्र गरिएकोसमेत भनिएको छ ।
विज्ञप्तिमा सो सम्बादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठको नभएको जिकीर गरिएको छ ।
‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा. डा. ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो ।’ विज्ञप्तिमा लेखिएको छ ।
यो अडियो राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा अगाडि बढ्नेसमेत श्रेष्ठको सचिवालयले जनाएको छ ।
अडियो सार्वजनिक भएपछि रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै त्यसबारे छानबिन थालेको छ ।
छानबिन पूरा नभएसम्मका लागि श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै काम नगर्न नगराउन रास्वपाले निर्देशन दिएको छ ।
साथै तीन दिनभित्र छानबिन प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।
यसैबीच रास्वपाका सभापति रवि लामिछानेले रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टि नभएको बताउँदै पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफूहरु नसक्ने बताएका छन् । साथै उनले छानविन गरी दोषी पाइए कडा भन्दा कडा कारवाही गर्ने र बेथितिको बचाउ नगर्ने जनाउँदै बरु उदाङो पारी दण्डित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
