काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ ।
हिजो बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । उक्त मस्यौदामा बुधबार छलफल हुने बताइएको थियो ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने भनिएको थियो ।
हिजोको बैठकमा मन्त्रालय बाँडफाँटमा पनि छलफल भएको थियो । तर कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेन ।