काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि संसद भवन परिसरमा चहलपहल शुरु भएको छ ।
आज उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
निर्वाचन बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से मलमा हुनेछ ।
निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादव र नेकपा एमालेबाट उम्मेदवार बने अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन् ।
उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालबाट यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन् ।
यद्यपी प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छन् ।
बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।
उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ ।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो । हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन् ।