चितवन । कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।
गत मङ्गलबार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो ।
उनले जुम बैठक चलिरहँदा चियाको गिलास लिएर आएकी महिला कर्मचारीलाई आफूतिर तानेर अश्लील हर्कत गरेका थिए । अरु सहभागीको भिडिओ म्युट थियो । तर, उनको भिडिओ अनम्युट हुँदा उनी के गरिरहेका छन् भन्ने अरु विद्यार्थीले स्पष्ट देखिन्थ्यो । त्यसैको कारणले पनि दत्तले कार्यालयमा गरेको हर्कत बाहिर आयो । जुम मिटिङ भइरहेको बेला उनले महिला कर्मचारीलाई जबरजस्ती तानेर आफनो काखमा राखेका थिए । दत्त त्यतिमै रोकिएनन् । महिलालाई तानेर संवेदनशील अंगमा चुम्बन गरेका थिए । यसअघि पनि यस्तै हर्कत गर्दै आएको आरोप लागेका उनलाई माओवादी पार्टीको समर्थन रहने र उपकुलपति पनि माओवादी भएकाले उनी राजनीतिक संरक्षणमा जोगिँदै आएका थिए ।
त्यस्ता दुईवटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बन गरेर तीन सदस्यीय छानबिन समिति बनाएको जानकारी दिए । विश्वविद्यालयका प्राध्यापक डा श्रवणकुमार साहको संयोजकत्वमा प्रा डा दुर्गा देवकोटा र प्रा नारायणराज जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । पन्ध्र दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको उनले बताए।
विश्वविद्यालयले डिन दत्तलाई निलम्बनको पत्र बुझाएको छ । डिन दत्तलाई तत्काल कारबाही गर्न चौतर्फी दबाब परेपछि निलम्बन गरिएको बताइएको छ ।