काठमाडौँ – नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री हुने बताएका छन् ।
नेपाली कांग्रेस ललितपुर नगर समितिद्वारा आज (बिहीबार) मंगल बजारमा आयोजित भेटघाट कार्यक्रममा नेता निधिले पहिलो चरणमा, दोस्रो चरणमा माधव नेपाल र तेस्रो अर्थात् निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताएका हुन् ।
निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वभाबिक गठबन्धनबाट माओवादीमुक्त भएको पनि बताएका छन् । बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्वपूर्ण निर्णय गरेको बताए ।
निर्वाचन लगत्तै गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसजनमा निराशा छाएको भए पनि बिश्वासको मत दिएपछि कोर्ष करेक्सन भएको उनको भनाइ थियो । गठबन्धनकारी दलहरुबीच राष्ट्रपति निर्वाचनमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सर्बसम्मत भएको उल्लेख गर्दै नेता निधिले उपराष्ट्रपति निर्वाचन लगत्तै सरकारले विश्वासको मत लिने बताए ।
सरकारले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा जाने भन्दै उनले गठबन्धनकारी दलहरुबीच भएको सहमति अनुसार सरकार पाँच वर्षसम्म कायम रहने बताए ।