काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले मलमा अनुदान कटौती गर्ने नेपाल सरकारको निर्णय बारे आपत्ति जनाएको छ ।
साथै उसले जनअभिमत प्रति आफ्नो उत्तरदायित्व रहेको बताउँदै सत्ताकै लागि बेठिक कुरालाई समर्थन नजनाउने बताउँदै जनमत पार्टी जतिबेला पनि सरकारबाट निस्किन तयार रहेको बताएको छ ।
नेपाल सरकारले फाल्गुन २४ गते रासायनिक मलमा दिइँदै आएको ७०.८२ अनुदान कटौती गरी ५९.०४ बनाएको प्रति आफ्नो पाटी किसान आन्दोलनको नेतृत्व गरेको पार्टी रहेको बताउँदै उसले ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
अनुदान कटौतीबाट किसानले प्रति किलो यूरियामा रू ११, डिएपीमा रू७ र पोटासमा रू ९ थप मूल्यभार बेहोर्नु पर्ने उसले उल्लेख गरेको छ ।
जारी विज्ञप्तिमा उसले भनेको छ– ‘सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरीब किसानहरूको बेवास्ता गरेको देखिन्छ।’
सरकारमा रहेको जनमत पार्टीले नेपाल सरकारसँग किसानलाई साबिकमा दिइँदै आएको अनुदान बढाउन, पर्याप्त मलखाद खरीद गर्न बजेट बढाउन र समयमै मलखादको सुलभ उपलब्धता सुनिश्चित् गर्न अनुरोध समेत गरेको छ ।
किसानहरूको हितमा माग सम्बोधन नभए जनमत पार्टी आन्दोलनमा उत्रिन समेत बाध्य हुने विज्ञप्तिमार्फत उसले बताएको छ ।