काठमाडौं जेठ, ६–
एमाले र माओवादी मिलेर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीप्रति ऋषि कट्टेलले आपत्ति जनाएका छन् । उनले विज्ञप्ति मार्फत एमाले र माओवादी केन्द्र मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक र गैर कानूनी भएको जिकिर गरेका छन् ।
अध्यक्ष ऋषीराम कट्टेलले आइतबार विज्ञप्ती जारी गर्दै ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको भन्नु भ्रामक भएको जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी संविधानसभाको दोस्रो निर्वाचनदेखि नै निर्वाचन आयोगमा दर्ता भएको जनाउदै राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गरि चुनाव चिन्ह ‘घन कोदालो’ प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष कट्टेलले प्रस्ट कानुनी व्यवस्था हुँदाहुँदै सत्तासिन दलले नै गैरकानुनी क्रियाकलाप गर्नाले उनीहरुको अधिनायकवादी चरित्रको पर्दाफास भएको बताएका छन्। यस्ता कार्यले नेपालको संविधान, कानुन र सिंगो संसदीय व्यवस्थाको मानमर्दन गरेकोसमेत उनले आरोप लगाएका छन्।
सरकारमा रहेका दलहरुले असंवैधानिक र गैरै कानूनी विधि अवलम्वन गरे त्यसको प्रतिरोध गर्ने चेतावनी दिइएको छ।