बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सिण्डिकेट हटाउने मुख्य योजनाकार भट्टराई मन्त्रीबाटै ‘दण्डित’

शुक्रबार, जेष्ठ ४ २०७५

काठमाडौं जेठ, ४–
सिण्डिकेट हटाउने अभियानका मुख्य भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई  मन्त्रालय तानिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र शुक्रबार  भट्टराईले पाएका पाएका हुन् ।

बुधबार नै भएको सरुवाको निर्णयमा सचिवले हस्ताक्षर गर्न नमानेपछि सहसचिवलाई लगाइएको हो ।

 भौतिक पूर्वाधारमन्त्रीले खुट्टा कमाएका बेला महानिर्देशक भट्टराईले सिन्डिकेट खारेज गर्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभियानलाई दह्रो साथ दिएका थिए ।

सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरुप्रति लचिलो बनेका थिए । गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति गरेका थिए ।
उनलाई मन्त्रालय तान्नुलाई सिन्डिकेट हटाए वापत मन्त्री महासेठले दिएको दण्डका रुपमा हेरिएको छ ।

अहिले सिन्डिकेट त हटाएको छ तर, त्यसलाई व्यवस्थित गर्न गर्नु पर्ने कामहरु थुप्रै छन् । त्यस्तो बेला यातायात व्यवस्था विभागमा महानिर्देशक फेर्नुलाई व्यवसायीको प्रभावमा परेर गरिएको चलखेलका रुपमा हेरिएको छ ।