काठमाडौं जेठ, १–
मुक्तिनाथ विकास बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतमा यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत प्रद्युम्न पोखरेललाई नियुक्त तथा पदस्थापन गरेको छ । बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव सँंगालेका पोखरेलले, संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । सो पश्चात उनले ६ वर्ष मेगा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा सहभागीता जनाउँदै आएको यस विकास बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाईको लागि रु. १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुश) लाई बैंकका संचालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले प्रदान गरे ।