काठमाडौं वैशाख, १७–
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ । त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुर दबरबन्दी भइ हाल टंगालमा कार्यरत् दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा तानिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ । सुनसरीका तत्कालिन एसपी विद्यानन्द माझी बालिका बतात्कारको आरोपमा मुख्यालय तानिएपछि रिक्त रहेको सुनसरीमा अधिकारीलाई पठाएको हो ।
यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत जीवन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, सिरहामा पठाइएको छ। सिराहाका एसपी शेखर कोइरालाई ट्राफिक प्रहरी निर्देशनालयमा सरूवा गरिएको छ।
यस्तै महानगरीय ट्राफिक प्रहरी कार्यालयमा कार्यरत डम्बरबहादुर विक जिल्ला प्रहरी कार्यालय, धादिङ सरूवा भएका छन्। धादिङका ध्रुवराज राउतलाई अनुसन्धान विभागमा पठाइएको छ।
एसपीसँगै दुई डिएसपीको पनि सरूवा भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डिएसपी रूकेश तन्डुकारलाई जिल्ला प्रहरी कार्यालय अछाम लगिएको छ। अछामका डिएसपी दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालय नक्साल ल्याइएको छ।