काठमाडौं वैशाख, ८–
के तपाईँको नम्बरमा पनि आज ३१०१० वा यस्तै नचिनेको नम्बरबाट मेसेज आएको छ ? केहीदिनदेखि धेरै जनाले सामाजिक सञ्जालमा यस्तो नम्बरबाट मेसेज आएको र अन्यौल भएको उल्लेख गरेका छन् ।
रातो नम्बरको आतंकबाट मुक्त भएको केही समयपछि नै फेरि यो नयाँ फन्डा सुरु भएको छ ।
खासमा यो के हो त ?
सुरुमा त्यस्तो नम्बरबाट मेसेज रिसिभ हुन्छ । मेसेजमा हाजिरि जवाफ सम्बन्धी मेसेज आउछ । पुरस्कारको प्रलोभन देखाएर एसएमएस रिप्लाई गर्न लगाउछ ।
जब कसैले रिप्लाई गर्छ, ऊ फँस्छ । किनभने यस्ता नम्बरहरु प्रिमियम नम्बरहरु हुन्छन्, अर्थात् रिप्लाई गर्ने बित्तिकै धेरै रकम पर्ने ।
फोन रिसिभ भयो भने चाहि ब्यालेन्स काटिँदैन । किनभने नेपालका सबै मोबाइल अपरेटरहरुले मेसेज रिसिभिङमा चार्ज लगाएका छैनन् । तर त्यसरी नचिनेको नम्बरमा रिप्लाई गर्नु पनि ठीक हैन ।
त्यो मेसेज ’सुनौलो अवसर ! एनटसीमा मोबाइलबाट ३१०१० माअंग्रेजी वर्णमालाको ‘क्यू’ लेखी एसएमएस पठाई आफ्नो बौद्धिकताको परीक्षणसँगै प्रत्येक हप्ता आकर्षक प्राइज जित्नुहोस् !’ वा त्यस्तै केही बहाना बनाउँदै तपाईँको रकम धुत्नखोज्नेहरुले गरेको पनि हुनसक्छ ।
यस्तो समस्याबारे नेपाल टेलिकम भने बेखबर छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले यसबारे आफुलाई जानकारी नभएको बताइन् । उनले शंकास्पद कल नउठाउन र त्यस्ता नम्बरबाट आएका मेसेजको रिप्लाई पनि नदिन आग्रह गरेकी छिन् ।