बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कोरियन भाषा परिक्षाको आवेदन आजदेखि खुल्यो, लाइन बस्नुपर्ने बाध्यता अझैं उस्तै

बिहिबार, चैत्र ८ २०७४

काठमाडौं चैत, ८–
बिहीबारबाट कोरियामा रोजगारीका लागि जान चाहनेका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुला गरिएको छ ।

भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ । यद्यपि,  बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको लाइन भने पहिला पहिला जस्तै लामै देखिन्छ  । गत वर्षबाटै आवेदन गर्दा लाइन बस्ने झन्झट  हटाइए पनि बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता उस्तै रहेको छ ।

आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । त्यसैले ग्लोबल आईएमई बैंकका शाखाहरुमा बैंक खुल्नुभन्दा अघिदेखि नै लामो लाइन लागेको देखिन्थ्यो ।

 फारम भर्ने म्याद चैत १७ गतेसम्म तोकिएको वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले जनाएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्नेछन् ।

 

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।