काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।
आफू अभिमन्यु नभएको बताउँदै आज सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’
नागरिकता विवादमा सर्वोच्चको फैसलापछि सांसद र मन्त्री गुमाएका रविको आइतबार नेपाली नागरिकता कायम भइसकेको छ । उनी पुनस् गृहमन्त्रालयमा फर्किन चाहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई गृहमन्त्री दिन सकारात्मक छैनन् ।
गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने रविको पक्षमा उभिएका छन् ।
रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।