काठमाडौं, १९ वैशाख ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने जनाएको छ । राजधानी दैनिकमा समाचार छ । असन्तुष्टमध्येको अर्को दल राष्ट्रिय जनता पार्टी नेपालले भने मनोनयन बहिष्कार गर्ने जनाएको छ ।
प्रदेश नम्बर ३, ४ र ६ मा हुने पहिलो चरणको निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार फोरम नेपालले उम्मेदवार मनोनयन गर्ने जनाएका हो ।
फोरम नेपालका महासचिव रामसहाय यादवले पहिलो चरणको निर्वाचनमा फोरमले उम्मेदवारी मनोनयन गर्न जिल्ला कमिटी र प्रदेश कमिटीलाई अधिकार दिइसकेको बताए । फोरम नेपालले जनाए पनि पार्टीको आधिकारिक घोषणापत्र सार्वजनिक गरेको छैन ।
भर्खरै ६ वटा मधेसकेन्द्रित दलबीच एकता भएर बनेको जनता पार्टीले मधेसी मोर्चाको माग पूरा नभएकाले निर्वाचनमा मनोनयन दर्ता नगर्ने जनाएको छ । जनता पार्टी अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले पार्टी निर्वाचनमा सहभागी नहुने भएकाले मनोनयनमा नजाने बताए ।
‘६ वटा पार्टी मिलेर जनता पार्टी बनेको छ, यो निर्वाचन आयोगमा दर्ता भएको छैन र हाम्रो माग पनि पूरा भएको छैन’ यादवले भने, ‘पहिलो चरणको निर्वाचनमा हामी सहभागी हँुदैनौं, माग पूरा भए दोस्रो चरणको निर्वाचनमा सहभागी हुन्छौं ।’