काठमाडौं । जनमत पार्टीले समानुपातिक उम्मेदवारको नाम टुंग्याएको छ ।
डा. सीके राउत नेतृत्वको यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षमा एक र समानुपातिकमा ५ सीट हात पारेको छ ।
जनमत पार्टीले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा पार्टी अध्यक्ष राउत स्वयं निर्वाचित भएका छन् ।
पहिलो आमनिर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै जनमतले पाँच जना समानुपातिक उम्मेदवारको नाम टुंग्याएको छ
केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको हो ।
निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन् ।
धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिरहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीले जनाएको छ ।
केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको हो । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा क्लस्टर छुट्याउँदै सातजनाको नाम टुंगो लगाएको हो ।
मधेशी महिलाबाट वविता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चंदन सिंह, दलितबाट रंजु कुमारी खंग (खत्वे), मधेशी महिलामा अनिता कुमारी साह, मधेशी पुरुषमा पार्टीका उपाध्यक्ष बसन्त कुमार कुशवाहा, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातीमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ ।